सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ। घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार रहेका छन्।
स्थानीयका अनुसार मिनबहादुरले माइत गएकी श्रीमतीलाई चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट मंगलबार घर ल्याएका थिए। दुवै जनाले प्रायः मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेका थिए। वडा सदस्य रवि खत्रीका अनुसार मादक पदार्थको नशामा सामान्य विवाद हुँदा मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेको र त्यसकै कारण मिना रानाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बुधबार बिहान स्थानीय घटनास्थल पुग्दा मिना राना मृत अवस्थामा फेला परेकी थिइन्। मृतकको टाउको र घुँडामा चोट तथा निलडाम देखिएको भए पनि घटनास्थलमा कुनै धारिलो हतियार प्रयोग भएको संकेत नदेखिएको स्थानीयले बताएका छन्।
घटनापछि मिनबहादुर फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र पारेको छ। स्थानीयका अनुसार ठूलो झगडा नभई मदिराको नशाकै क्रममा भएको कुटाकुटबाट घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले महिला मृत अवस्थामा भेटिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए।
उनका अनुसार शवको स्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिनेछ।

