काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले मन्त्री सिता बादीको पदबहालीपछि २ हजार ४६ हराएका बालबालिकालाई सकुशल फेला पारेको जनाएको छ।
मन्त्रालयका अनुसार २०८२ चैत १३ देखि २०८३ असार १० सम्म २ हजार ४४० हराएका बालबालिकाको विवरण दर्ता भएकोमा २ हजार ४६ जना अर्थात् करिब ८४ प्रतिशत बालबालिका फेला परेका छन्। बाँकी ३९४ जनाको खोजी नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँगको समन्वयमा जारी छ।
सोही अवधिमा बेवारिसे अवस्थामा फेला परेका १०३ र सडकमा आश्रित ६६ गरी कुल १६९ बालबालिकाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएकामध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना बालबालिका हाल संस्थागत संरक्षणमा रहेका छन्।
मन्त्रालयले नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा जोखिममा रहेका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।
साथै, आगामी दिनमा पनि हराएका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको खोजी, उद्धार, संरक्षण र पुनर्स्थापनालाई अझ प्रभावकारी बनाउँदै प्रत्येक बालबालिकाको सुरक्षित र पारिवारिक वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सहकार्यलाई थप सुदृढ बनाइने मन्त्रालयले जनाएको छ।

