Harsamaya
भरी सिलिन्डर ग्यास दिने आयल निगमको निर्णय
ग्यास सिलिन्डर ।

काठमाडौं - नेपाल आयल निगमले १४.२ केजीको एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको छ।

निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट एलपी ग्यासको आपूर्ति र लोडिङ अवस्था सुधार भएकाले असार ३१ गतेदेखि मुलुकभर साविककै १४.२ केजी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको हो।

ग्यासको अभाव भएपछि निगमले गत असार २९ गतेदेखि अस्थायी रूपमा ७.१ केजी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो। अब भने आपूर्ति सहज बन्दै गएपछि उक्त व्यवस्था हटाएर पुनः १४.२ केजीकै सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ।

निगमका अनुसार १४.२ केजीको ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम रहनेछ।

यद्यपि, केही समयसम्म बजारमा ७.१ र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बिक्रीमा रहन सक्ने भएकाले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।

निगमले भारतीय आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद वा अनावश्यक मौज्दात नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update