नवलपुर - लगातारको वर्षाले नवलपुरमा पहिरो, डुबान र सडक अवरुद्धका घटना बढेका छन्। विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण नौ घरपरिवार प्रभावित भएका छन् भने ३५ जना सुरक्षित स्थानमा सारिएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको हो। तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायाको क्षति भने भएको छैन।
यस्तै, गैँडाकोट–१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा पानी पस्दा करिब २० क्विन्टल धान र लत्ताकपडा भिजेका छन्। सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पसेर क्षति पुगेको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै गैँडाकोट–३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकमा पहिरो खस्नुका साथै रुख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन प्रहरी र सम्बन्धित निकायले समन्वय गरिरहेका छन्।
हुप्सेकोट गाउँपालिका–४ र ५ जोड्ने रातेखोलामा पानीको बहाव बढ्दा रुम्झाटार जाने भित्री सडक तथा हुप्सेकोट–६ बाडाखोलामा पहिरो खस्दा झ्यालवास–वडा कार्यालय सडक पनि अवरुद्ध भएको छ। दुवै सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निरन्तर वर्षाका कारण जिल्लाभर पहिरो र डुबानको जोखिम बढेकाले नदी किनार, पहाडी सडक र जोखिमयुक्त बस्तीमा निगरानी बढाइएको छ।

