काठमाडौं - सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए।
मण्डललाई शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए।
आफन्तका अनुसार बायोलोजी विषयमा एमएस्सी गरेका मण्डल विगत एक वर्षदेखि मानसिक तनावमा थिए। उनी रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी बेरोजगार बनेका थिए।
मण्डलकी भाउजू शान्तिदेवी मण्डलका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे सिसौटिया बजारचोकमा उनले एक्कासी आत्मदाहको प्रयास गरेका थिए।

