Harsamaya
पक्राउको कारण नखुलाई कुटपिट गरिएको भन्दै माजिद अन्सारीले मागे जीवन सुरक्षाको ग्यारेन्टी
सामाजिक अभियन्ता माजिद अन्सारी ।

काठमाडौं - सामाजिक अभियन्ता माजिद अन्सारीले आफूलाई पक्राउ गर्दा प्रहरीले कुनै कानुनी प्रक्रिया पूरा नगरेको आरोप लगाएका छन्।

सोमबार फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा अन्सारीले असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएको दाबी गरेका छन्। हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन्।

अन्सारीले अहिलेसम्म पक्राउको कारणबारे जानकारी नदिइएको, पक्राउ पुर्जी नदेखाइएको र आफ्नो पक्राउको कानुनी हैसियतसमेत स्पष्ट नगरिएको उल्लेख गरेका छन्।

उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै आफूविरुद्ध किन यस्तो लक्षित ढंगले गैरकानुनी कारबाही गरियो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन्। ‘के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ?’, उनले प्रश्न गरेका छन् । 

साथै उनले संघीय संसदका सांसद, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update