काठमाडौं - त्रिपुरेश्वरमा आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीका परिवारसँग नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ८ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।
सहमतिमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन र विगतका अभ्यासका आधारमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ।
घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरी बलका कर्मचारीलाई छानबिन प्रतिवेदनको आधारमा आवश्यक कारबाहीका लागि हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउने पनि सहमति भएको छ।
यस्तै, मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने तथा मृतकको आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराउने सहमति भएको छ।
सहमतिअनुसार मृतकको अन्त्येष्टि, काठमाडौंमा काजकिरियाको सम्पूर्ण व्यवस्थापन, आफन्तको यातायात, बसोबास तथा अन्य आवश्यक खर्चसमेत काठमाडौं महानगरपालिकाले बेहोर्नेछ।
त्यसैगरी, शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रिया छिटो सम्पन्न गराउने जिम्मा सरकारले लिने र पीडित परिवारका एक सदस्यको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिने सहमतिमा उल्लेख छ।
सरकारतर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् भने पीडित परिवार र वार्ता समितिका प्रतिनिधिहरूले पनि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।



