Harsamaya
अमेरिका–इरान युद्ध थप चर्कियो, दुवै पक्षबाट लगातार आक्रमण
हर्मुज नाका ।

काठमाडौं - अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण पूरा गर्दै करिब १४० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

सेन्टकमका अनुसार आक्रमणमा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार प्रणाली र अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको हो। व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारी पालना गर्ने अवसर दिइए पनि त्यसमा असफल भएको अमेरिकी दाबी छ।

यता, इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी लक्ष्यविरुद्ध शृङ्खलाबद्ध जवाफी आक्रमण सुरु गरेको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार संयुक्त अरब इमिरेट्स र कतारमा आक्रमण भएको छ भने बहराइनमा क्षेप्यास्त्र चेतावनी साइरन बजाइएको छ। दक्षिणी इरानका विभिन्न सहरमा पनि विस्फोट भएका छन्।

बढ्दो जोखिमबीच कतारले राष्ट्रिय सुरक्षा सतर्कता दोस्रो पटक बढाउँदै नागरिकलाई घरभित्रै बस्न, झ्यालबाट टाढा रहन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।

यसैबीच, युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको तट नजिक एक कन्टेनर जहाजमा क्षतिपछि आगलागी भएको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेसको कमाण्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ।

इरानले अनधिकृत मार्ग प्रयोग गरिरहेको जहाजमाथि कारबाही गरेपछि होर्मुज जलसन्धि अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गरेको छ। आईआरजीसीका अनुसार अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म जलसन्धि नखोलिने र प्रतिशोधको कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी दिएको छ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update