Harsamaya
युवतीलाई गोप्य अंग देखाएको आरोपमा शिक्षा मन्त्रालयका अधिकृत पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सार्वजनिक स्थानमा एक युवतीलाई गोप्य अंग प्रदर्शन गरेको आरोपमा शिक्षा मन्त्रालयका अधिकृत सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

बैतडीको पाटन घर भएका ५५ वर्षीय भट्टले आइतबार बिहान ललितपुर महानगरपालिका–२ इमाडोलमा हिँडिरहेकी एक युवतीलाई गोप्य अंग देखाएको आरोप लागेको हो। घटनाको भिडियो युवतीले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

ललितपुर प्रहरीले भिडियोकै आधारमा सोमबार दिउँसो इमाडोलबाट भट्टलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भट्टले क्षणिक आवेग र उत्तेजनामा आएर यस्तो व्यवहार गरेको स्वीकार गरेका छन्। उनले बयानका क्रममा आफूबाट गल्ती भएको भन्दै तत्कालै युवतीसँग माफी पनि मागेको बताएका छन्।

अनुसन्धानका क्रममा प्रहरीले उनको मानसिक अवस्थाबारे पनि चिकित्सकसँग परामर्श गरेको थियो। प्रारम्भिक रूपमा उनको मानसिक अवस्था सामान्य रहेको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार भट्ट शिक्षा मन्त्रालयमा अधिकृतका रूपमा कार्यरत छन् र मन्त्रालयका विभिन्न कार्यक्रमका सिलसिलामा देशका विभिन्न जिल्लामा जाने गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update