रुपन्देही - भैरहवा भन्सार क्षेत्रमा यात्रुलाई अनावश्यक दुःख दिने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले डग स्निफिङसहित सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगन्जका २१ वर्षीय राज पाल, कुशीनगरका २२ वर्षीय सजित अन्सारी, २१ वर्षीय विपिन कुशवाहा र गोरखपुर इटहियाका २५ वर्षीय अमित यादव रहेका छन्। राज पालको साथबाट भारतीय ४ हजार ८५० रुपैयाँ, नेपाली ४०० रुपैयाँ र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। सजित अन्सारी र विपिन कुशवाहालाई भारतीय नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार भन्सार क्षेत्रको सुरक्षा मजबुत बनाउन तथा सीमावर्ती क्षेत्रमा हुने शंकास्पद गतिविधि नियन्त्रण गर्न नियमित रूपमा संयुक्त स्वीप अपरेसन सञ्चालन हुँदै आएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

