काठमाडौं - डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १२ जना सवार थिए।
घाइते हुनेमा नन्दराम शाही, धनबहादुर डाँगी, लालदेवी रोकाय, आवास रोकाय, कर्णसरा बुढा, धीरेन्द्र बूढाथोकी, प्रितम बुढा, भीमप्रसाद बुढा, डिल्लीप्रसाद उपाध्याय, नित्यानन्द अधिकारी र चालक विन्दास रावल रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
सबै घाइतेलाई उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

