काठमाडौं - दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि बेपत्ता गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष गोताखोर टोली परिचालन गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली आज घटनास्थल पुगेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टोलीले पानीमुनि तथा तीव्र भेलमा खोजी गर्न प्रयोग हुने सोनार क्यामरा र चुम्बक (म्याग्नेट) लगायतका विशेष उपकरणको प्रयोग गरी खोजी अभियान सञ्चालन गर्नेछ।
गत असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी सडकबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट छ जना गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो।
दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। तर दुर्घटनाग्रस्त गाडी र अन्य यात्रुहरूको अवस्था अझै अज्ञात रहेकाले विशेष उपकरणसहितको गोताखोर टोलीमार्फत खोजी अभियानलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

