Harsamaya
सिन्धुपाल्चोकमा कांग्रेस क्रियाशील न्यून, सदस्यता नवीकरण घट्नुमा पूर्वमन्त्री बस्नेत जिम्मेवार रहेको आरोप
नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा लगायत ।

चौतारा – नेपाली कांग्रेस सिन्धुपाल्चोकले क्रियाशील सदस्यता व्यवस्थापन अभियान तथा समीक्षा–छलफल कार्यक्रम सम्पन्न गरेको छ। देशभर क्रियाशील सदस्यता नवीकरण गर्ने सदस्यको संख्या घट्दै गएपछि पार्टीले जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर कारण, चुनौती र आगामी रणनीतिबारे छलफल गरिरहेको छ। सोही अभियानअन्तर्गत मंगलबार चौतारास्थित जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्लाका लागि खटिएका केन्द्रीय प्रतिनिधि इच्छु राणा, नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि रौनक विक्रम कडेल, केन्द्रीय प्रतिनिधि तथा तरुण दल जिल्ला उपाध्यक्ष जितबहादुर थिङ, कांग्रेस केन्द्रीय सदस्य शिवबहादुर सुनार तथा जिल्ला सभापति जंगबहादुर लामाको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शिवबहादुर सुनारले भ्रातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाउन र पार्टी नेतृत्वलाई व्यवस्थित गर्न सके क्रियाशील सदस्यता नवीकरणको संख्या बढाउन सकिने बताए। संगठन बलियो बनाउन सबै तहका नेता–कार्यकर्ता जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

पूर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापाले विगतमा गाउँ–गाउँ पुगेर संगठन विस्तार गरेको अनुभव सुनाउँदै अहिले कांग्रेसभित्र पदका लागि प्रतिस्पर्धा गर्ने तर जिम्मेवारी पाएपछि निष्क्रिय हुने प्रवृत्ति बढेको आरोप लगाए। उनले वडाध्यक्ष र वडासभापतिहरूको निष्क्रियताका कारण पनि सदस्यता नवीकरणको संख्या घटेको दाबी गरे।

बागमती प्रदेश कांग्रेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता नवीकरण घट्नुको मुख्य कारण पूर्व केन्द्रीय सदस्य मोहन बस्नेत रहेको आरोप लगाए। उनका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा यसको असर बढी परेको छ भने क्षेत्र नम्बर–२ मा पनि आंशिक प्रभाव देखिएको छ।

जिल्ला सभापति जंगबहादुर लामाले पार्टीभित्र अनुशासन कमजोर बन्दै गएको टिप्पणी गर्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसमेत जिम्मेवारीबाट पन्छिएको बताए। आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि कार्यकर्ताका आवाज पर्याप्त रूपमा नसुनिएको उनको भनाइ थियो।

महासमिति सदस्य बंशलाल तामाङले क्रियाशील सदस्य नै पार्टीको मेरुदण्ड भएकाले संख्या मात्र बढाउनेभन्दा सक्रिय र योगदान गर्ने सदस्य तयार गर्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले आफ्नो चरित्र र कार्यशैली दुवै परिवर्तन गर्नुपर्ने र भदौ २४ पछिको परिस्थितिले पार्टी सुधारको अवसर दिएको बताए।

महाधिवेशन प्रतिनिधि तथा युवा नेता बिलबहादुर तामाङले नेताहरूबीचको आरोप–प्रत्यारोप र एक–अर्कालाई कमजोर बनाउने प्रवृत्ति अन्त्य नगरे पार्टी लक्ष्यमा पुग्न नसक्ने बताए। उनले युवा तथा तरुणलाई प्रविधिमैत्री ढंगले परिचालन गर्नुपर्ने, युवामुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने र पार्टीभित्र बृहत् एकताको आवश्यकता रहेको उल्लेख गरे। साथै सामाजिक सञ्जालमा हुने गालीगलौज र आरोप–प्रत्यारोपको संस्कृतिको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा, त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष गीता नेपाल तथा महिला नेतृ सिर्जना तामाङले पनि क्रियाशील सदस्यता नवीकरणलाई प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखे।

कार्यक्रमको अन्त्यमा केन्द्रीय प्रतिनिधिहरूले जिल्लाबाट प्राप्त सुझाव र प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाइने तथा क्रियाशील सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update