Harsamaya
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
मोरक्को नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम १६ मा पुगेपछि खुशी साट्दै खेलाडीहरू ।

एजेन्सी  – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा इसा डियोपले बराबरी गोल गर्दै मोरक्कोलाई खेलमा फर्काए। त्यसपछि थप ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा मोरक्कोका खेलाडीहरूले दबाबका बीच संयमित प्रदर्शन गरे भने गोलकिपर यासिन बोनोले महत्त्वपूर्ण बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे। अन्तिम निर्णायक पेनाल्टी इस्माइल साइबारीले गोलमा परिणत गरेपछि मोरक्को ३–२ ले विजयी बन्यो।

यस जितसँगै मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने नेदरल्यान्ड्सको यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update