गोरखा – गोरखामा अफ्रिकन स्वाइन फिभरका कारण पछिल्लो दुई महिनामा २५० भन्दा बढी सुँगुर र बंगुर मरेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गोरखा नगरपालिका–६ का किसान राजकुमार श्रेष्ठको फार्ममा ८० वटा, जुना रेग्मीको फार्ममा १० वटा र मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्ममा ६० वटा बंगुर मरेका छन्। अन्य किसानका फार्ममा पनि संक्रमणका कारण सुँगुर र बंगुर मरेको जनाइएको छ।
हालसम्म गोरखा नगरपालिका–६, ७, ८ र सहिद लखन गाउँपालिका–७ का फार्ममा संक्रमण पुष्टि भएको छ।
कार्यालय प्रमुख अनन्त कोइरालाका अनुसार अफ्रिकन स्वाइन फिभरको हालसम्म न उपचार छ, न त खोप नै उपलब्ध छ। संक्रमण भएपछि सुँगुर र बंगुर बच्ने सम्भावना अत्यन्त कम हुने भएकाले जैविक सुरक्षा अपनाउनु नै रोगबाट बच्ने मुख्य उपाय हो।
पशु विज्ञहरूले संक्रमित खोर, दाना, उपकरण तथा संक्रमित स्थानको सम्पर्कबाट टाढा रहन र शंका लागेमा तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन किसानलाई आग्रह गरेका छन्।

