Harsamaya
जर्मनीमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटनामा पाँच जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले सामान्य चोटपटक भोगेका छन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र हाल सर्वसाधारणका लागि कुनै सुरक्षा जोखिम नरहेको जनाइएको छ।

घटनापछि स्टेड क्षेत्रमा ठूलो संख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थल वरपर हेलिकप्टरसमेत परिचालन गरिएको थियो।

प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

जर्मनीमा बन्दुकसम्बन्धी कडा कानुन लागू भए पनि समय–समयमा यस्ता सामूहिक गोलीकाण्डका घटना हुने गरेका छन्। २०२० मा हानाउ र २०२३ मा ह्याम्बर्गमा भएका गोलीकाण्डमा पनि धेरै जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update