Harsamaya
हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ।

एजेन्सी - बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेकी छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन् । 

विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ को अगस्टमा १५ वर्ष लामो शासन अन्त्य भएपछि भारतमा आश्रय लिइरहेकी ७८ वर्षीया हसिनाले भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा आफूविरुद्धको फैसला गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरिन् । उनले मृत्युदण्डको सजायबाट नडराउने पनि बताइन् । 

‘मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए, तर ती सबै पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ’ हसिनाले भनिन् । 

स्वदेश फर्किनेबारे सोधिएको प्रश्नमा उनले सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसैवर्ष आफ्नो देश फर्कने बताइन्  । 

गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।

यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ। बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगी माग गर्दै आए पनि यस विषयमा दुवै देशबीच मतभेद कायम छ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update