काठमाडौं - आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लज्जावती’ का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पाँच पोस्टर सार्वजनिक गर्दै सिनेमाका प्रमुख पात्रहरूको परिचय र कथावस्तुको झलक प्रस्तुत गरेको हो ।
सार्वजनिक पोस्टरहरूमा सिनेमाका मुख्य कलाकारहरू फरक–फरक लुक्समा देखिएका छन्। पोस्टरमार्फत पात्रहरूको प्रेम, पारिवारिक सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेशलाई चित्रण गर्ने प्रयास गरिएको छ ।
एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन् । यसले सिनेमाको कथामा प्रेमकथाले महत्वपूर्ण स्थान ओगटेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य देख्न सकिन्छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि पोस्टरमा समेटिएका छन् । यसले पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई समेत सिनेमाले प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।
त्यस्तै अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला, मेनुका माझी र मुकुन भुसाल गम्भीर भावमा देखिएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी दुवै परिवेश समेटिएको छ, जसले कथा विभिन्न सामाजिक परिवेशमा आधारित रहेको संकेत गर्छ ।
निर्माण टिमका अनुसार सार्वजनिक गरिएका सबै पोस्टरमार्फत प्रेम, परिवार, सम्बन्ध र समाजका विविध आयामलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । सिनेमाले प्रेमकथासँगै सामाजिक यथार्थ र मानवीय सम्बन्धका विभिन्न पाटालाई पनि समेट्ने दाबी गरिएको छ ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको ‘लज्जावती’ का लेखक तथा निर्देशक राजबहादुर साने हुन्। सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। कुबेर सिने डिस्ट्रिब्युसनले सिनेमाको वितरण गर्नेछ ।

