Harsamaya
रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागीहरू ।

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहेका रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् । 

सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो । लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोसी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
 
उनका अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । नामावली सार्वजनिकसँगै दाबी विरोधका लागि समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

लामछिानेले अन्तिम नामावली विद्युतीय मतदान उपकरणमा प्रविष्ट गरेपछि आज राति नै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update