काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए ।
उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए । ‘हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ’ , उनले भने, ‘चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ ।’
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराए । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।
कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।
केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविज विरुद्धको खोप लगाइरहेको बताए ।
‘अस्पतालमा रेविज विरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ’ , उनले भने, ‘हाम्रो अस्पतालमा रेविज विरुद्धको खोपको अभाव छैन ।’ उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेविज विरुद्धको खोप लगाउने आउने गर्दछन् ।
अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीले यही आर्थिक वर्षममा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ । आव २०८०/८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१/८२ मा ४७ हजार ५८६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।

