Harsamaya
बाह्रबिसे नगरपालिकामा पूर्णखोप सुनिश्चित, स्वास्थ्यकर्मीको योगदानको प्रशंसा
बाह्रबिसे नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेकव कार्यक्रममा स्वास्थ्यकर्मी गायत्री नेपाललाई सम्मान गर्दै नगर प्रमुख बालकृष्ण बस्नेत ।

सिन्धुपाल्चोक – बालबालिकाको स्वास्थ्य सुरक्षालाई दीर्घकालीन रूपमा सुनिश्चित गर्ने उद्देश्यसहित बाह्रबिसे नगरपालिकाले नगरपालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। घोषणासँगै खोप कार्यक्रमको निरन्तरता, सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिक उपलब्धि नभई त्यसलाई निरन्तर कायम राख्ने जिम्मेवारीसमेत भएको बताए । उनले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, संक्रामक रोग नियन्त्रण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । 

नगर प्रमुख बालकृष्ण बस्नेतले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै खोप सेवा लगायत आधारभूत स्वास्थ्य सेवाको पहुँच थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको समर्पित प्रयासकै कारण नगरपालिकाले पूर्णखोप सुनिश्चितताको अवस्था हासिल गर्न सफल भएको उनको भनाइ थियो।

कार्यक्रममा वक्ताहरूले खोपलाई बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेपमध्ये एकका रूपमा चित्रण गर्दै यसको दिगोपनाका लागि आवश्यक स्रोत–साधनको सुनिश्चितता अपरिहार्य रहेको बताए। उनीहरूले स्वास्थ्य क्षेत्रमा गरिने लगानीलाई खर्च नभई भविष्य निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिए।

विशेषगरी दुर्गम बस्तीमा पुगेर समुदायलाई खोपको महत्वबारे सचेत गराउने, नियमित खोप सेवामा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने र छुटेका बालबालिकाको पहिचान गरी सेवामा जोड्ने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सितामाया दाहालले नगरपालिकाले सञ्चालन गरिरहेका खोप कार्यक्रम, पूर्णखोप अभियानबाट प्राप्त उपलब्धि, सेवा पहुँचको अवस्था तथा आगामी योजनाबारे जानकारी गराएकी थिइन् । उनका अनुसार खोपयोग्य उमेर समूहका सबै बालबालिकालाई नियमित खोप सेवामा समेट्न निरन्तर अनुगमन, अभिलेखीकरण तथा समुदायस्तरीय सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मञ्जु तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली, जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निशान सापकोटा, वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update