भैरहवा - रुपन्देही प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–११ मा केही दिनयता चिनियाँ नागरिकहरूले नेपालमा कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार गरिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ५ बजे उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राहदानी नम्बर ईआर४७३३८२८ वाहक ४९ वर्षीय सियोङ गुओफु, ईबी२८३३२१ वाहक ४३ वर्षीय हु गाङ, ईके२२३५३४९ वाहक ४५ वर्षीय ली सुआन्हे, ईपी९००९२३२ वाहक ३६ वर्षीय सुन हुई, ई०६८८६३०६ वाहक ३५ वर्षीय झाओ चिउचेन, ईआर८४१३५९६ वाहक ३१ वर्षीय सियाङ जियाशुन तथा ईपी६५२४३६४ वाहक ४५ वर्षीय ली बिन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बाइनान्स, ओकेएक्स, इनटोकन, पेटिएम, भीम, मोबिक्विक र फोनपे लगायतका एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका थिए। पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपालमा क्रिप्टोकरेन्सीको खरिद–बिक्री तथा कारोबार कानुनतः निषेधित रहेको भन्दै प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

