तनहुँ - डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा वन्यजन्तुबाट क्षति व्यहोरेका नागरिकलाई सात लाख ३९ हजारभन्दा बढी राहत वितरण गरेको छ। वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका–२०८० अनुसार प्रभावितलाई राहत उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार बाँदर र भालुको आक्रमणबाट घाइते भएकालाई दुई लाख १८ हजार १२० राहत प्रदान गरिएको छ। यस्तै, पशुधन क्षति भएका कृषकलाई रु ९८ हजार, बाँदरका कारण कृषिबालीमा क्षति पुगेकालाई रु चार हजार २५० तथा पशुधन र कृषिबाली दुवैमा क्षति व्यहोरेकालाई रु चार लाख १९ हजार राहत वितरण गरिएको छ।
रानाभाटले पछिल्ला वर्षहरूमा वन्यजन्तु र मानवबीचको द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको बताए । वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै जानु, जङ्गल आसपास मानव बस्ती विस्तार हुनु र खाद्यान्नको खोजीमा वन्यजन्तु बस्ती क्षेत्रमा प्रवेश गर्नु यसको मुख्य कारण रहेको उनको भनाइ छ।
वन्यजन्तुबाट क्षति पुगेमा सम्बन्धित वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समूह वा डिभिजन वन कार्यालयमा समयमै जानकारी गराउनुपर्ने व्यवस्था रहेको उनले बताए ।
तनहुँका व्यास, भानु, शुक्लागण्डकी, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनीका ग्रामीण क्षेत्रमा बाँदरसहित अन्य वन्यजन्तुले कृषिबाली तथा पशुधनमा क्षति पुर्याउने समस्या बर्सेनि दोहोरिने गरेको छ। स्थानीयवासीले राहत वितरणसँगै वन्यजन्तु नियन्त्रण तथा दीर्घकालीन समाधानका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने माग गर्दै आएका छन्।

