जनकपुर - मधेश प्रदेशमा रहेका १३६ स्थानीय तहमा करारमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित भएका छन् ।
गत कार्तिक महिनादेखि हालसम्म तलब र अन्य सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलित भएका छन् । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला अगाडि मंगलबार उनीहरुले धर्ना दिनुका साथै नाराबाजीसमेत गरेका छन् ।
उनीहरुले कामको मूल्य चाहिन्छ, काम निरन्तर तलब किन बक्यौता ? तलब देउ ढिलासुस्ती बन्द गर, हाम्रो हकको भत्ता तत्काल उपलब्ध गर, चाडपर्व भत्ता देउ, जोखिम भत्ता देउ लगायतका प्ले कार्डसहित नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
प्रयोगशालामा व्यक्तिगत स्वार्थ र राजनीतिक फेरबदलका कारण कतिपय प्रयोगशालाकर्मीले गत कार्तिक महिना देखि तलब नपाएको धनकौल जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी अनिल कुमार महतोले जानकारी दिए । उनका अनुसार कतिपय प्रयोगशालाकर्मीहरुको गत माघ महिनादेखि करार नवीकरणसमेत भएको छैन् । उनले करार सम्झौता नविकरण नगरेर काम गराउने तर तलब नदिने गरेको गुनासो गरेका छन् ।
सरकारले प्रयोगशाला सञ्चालनका निम्ति कर्मचारी समायोजन गर्न नसके जनतालाई आश्वासन र भूमरीमा पारेर नराख्न महातोले प्रदेश सरकारलाई सुझाव दिएका छन् । उनले कर्मचारीहरुको बाँकी रहेको तलब उपलब्ध गराउनु पर्ने, करार सम्झौता नवीकरण नभएकाहरुको नवीकरण गर्नुपर्ने, प्रयोगशालामा आवश्यक रिएजेन्ट, केमिकल लगायतका उपकरणहरुको सरकारले व्यवस्था गर्नुपर्ने, कर्मचारीहरुसँग सम्मानजनक व्यवहार गर्नुपर्ने र गुनासो सुन्ने वातावरण निर्माण हुनुपर्नेलगायतका मागहरु पूरा नभएसम्म आफूहरु विरोध जारी राख्ने र काममा नफर्किने महतोले चेतावनी दिएका छन् ।
करारका कर्मचारीहरु आन्दोलित भएका कारण प्रदेशभरीका जनस्वास्थ्य प्रयोगशालाहरुको कामकाज समेत प्रभावित भएको छ ।

