Harsamaya
सुदूरपश्चिमले मध्यरातमा ल्यायो ३७ अर्बको बजेट, प्रतिपक्षी दलले गरे बहिष्कार 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । 

सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ । 

सुदूरपश्चिममा गत वर्ष ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो । 

आगामी आर्थिक वर्षका लागि सरकारले अनुदान र आन्तरिक राजस्वलाई आधार बनाएको छ । आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ । 

यस्तै सङ्घीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान ९ खर्व ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

सङ्घीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र सङ्घीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

सरकारले मध्य राति बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दलले भने बैठक अवरुद्ध गरेको छ । प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ ।

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाएका हुन् ।

बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद मानबहादुर धामीले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाए ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update