Harsamaya
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत कार्य गर्ने पाँच उद्योग तथा व्यवसायलाई जरिवाना गरेको छ भने अन्य आठ व्यवसायलाई सामान्य निर्देशन दिएको छ।

विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा विभिन्न व्यवसायमा मूल्यसूची नराख्ने, लेबल विनाको पानी बिक्री गर्ने तथा म्याद गुज्रिएका सामग्री फेला परेपछि कारबाही गरिएको हो।

कारबाहीमा परेका व्यवसायमध्ये आर.आर.आर. इन्टरनेशनल ट्रेडिङ प्रालि, काँडाघारी–८, काठमाडौँलाई म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखेको पाइएपछि २ लाख ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

त्यसैगरी, सल्नु फुड एण्ड बेभरेज प्रालि, शङ्खरापुर–८ र श्री कृष्ण बेभरेज, काँडाघारी–९ लाई मूल्य टाँस नगरी तथा लेबल विनाको पिउने पानी बिक्री गरेको पाइएपछि जनही २ लाख १ हजार जरिवाना गरिएको छ।

यस्तै, एप्पल इन्टरप्राइजेज प्रालि, सातदोबाटोलाई ५० हजार तथा शिवम स्टोर, कोटेश्वरलाई ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।

विभागका अनुसार सक्षम ट्रेडिङ कन्सर्न, सीजन एग्रो प्रोभिजनिङ इन्डष्ट्रिज, आदित्य इन्टरप्राइजेज, मिर्टी स्टोर, ए आर सप्लायर्स, रोजी इन्टरप्राइजेज, बिनु खाद्य स्टोर र न्यू श्री दीपक स्टोरलाई भने सामान्य निर्देशन दिइएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य र हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update