Harsamaya
 तरुण दल अध्यक्ष लामाको पक्राउप्रति आपत्ति, ‘राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिइयो’
मेलम्ची नगर समितिका अध्यक्ष श्याम लामा ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिले नेपाल तरुण दल मेलम्ची नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। नगर कार्यसमितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पर्याप्त प्रमाण र कानुनी आधारबिना राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाएको हो।

विज्ञप्तिमा नेपालको संविधानले नागरिकलाई प्रदान गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संगठनमा आबद्ध हुने अधिकार, शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने तथा आफ्नो पेशा–व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गरिएको छ। कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था रहेको पनि कांग्रेसले स्मरण गराएको छ।

नगर कार्यसमितिले कुनै पनि व्यक्तिलाई पर्याप्त प्रमाण र कानुनी प्रक्रियाबिना दोषीका रूपमा चित्रित गर्नु, विभिन्न आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गर्नु तथा राजनीतिक आस्थाका आधारमा राज्य संयन्त्रको प्रयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने जनाएको छ।

प्रेस विज्ञप्तिमा शारीरिक रूपमा स्वस्थ, अनुशासित र संगठित हुनु कुनै अपराध नभएको उल्लेख गर्दै फरक राजनीतिक विचार राखेकै आधारमा कसैलाई अपराधी करार गर्नु लोकतन्त्रको मर्ममाथिको प्रहार भएको टिप्पणी गरिएको छ।

कांग्रेसले श्याम लामामाथि लगाइएका आरोपको निष्पक्ष, पारदर्शी र कानुनी ढंगबाट छानबिन गर्न माग गर्दै यदि कुनै ठोस प्रमाण र कानुनी आधार नभएको अवस्थामा उनलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

साथै, नागरिक स्वतन्त्रता, मानव अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त भएर काम गर्न पनि आग्रह गरिएको छ।

कांग्रेस मेलम्ची नगर कार्यसमितिका सभापति वसन्त लामाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राजनीतिक प्रतिशोधको भावनाले राज्य संयन्त्रको दुरुपयोग गरिनु लोकतान्त्रिक प्रणालीकै लागि चिन्ताको विषय भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  २२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update