काठमाडौं - नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टबाट आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचार भइरहेको दाबी गरेकी छन्। उनले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छन्।
उनले यस्ता दुष्प्रचारमार्फत समाजमा भ्रम सिर्जना गर्ने व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न मागसमेत गरेकी छन्।
दाहालले आफ्ना भाइ प्रकाश दाहालको असामयिक निधनपछि पार्टीकै निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षाबिना पार्टी र नेतृत्वको हितमा आफूले समय, ऊर्जा र क्षमता समर्पित गरेको बताएकी छन्।
उनले पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले चलाइएको भनिएको ‘मिडिया ट्रायल’को सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्।
साथै, आवश्यक ठानेमा सरकारले गर्ने जुनसुकै छानबिन वा अनुसन्धानमा पूर्ण सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पार्दै दाहालले “सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन” भन्ने विश्वास व्यक्त गरेकी छन्।
उनले आम नागरिकलाई अफवाह र भ्रममा नपर्न आग्रह गर्दै सत्यतथ्यको आधारमा मात्र धारणा बनाउन अनुरोध गरेकी छन्।

