Harsamaya
यस वर्ष मलको अभाव हुँदैन - कृषि मन्त्री गीता चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ।

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसवर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने बताएका छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले यस वर्ष मलको अभाव नहुने समेत दावी गरे । 

चालू आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई बिक्रिबितरण गरिसकेको उनले बताए । उनले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरि हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिकटन मल मौज्दात रहेको जानकारी दिए । 

मन्त्री चौधरीले चालू आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने उल्लेख गरे । 

मलको अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास एवं तयारीहरू गरिरहेको भन्दै मन्त्री चौधरीले मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नको लागि ताकेता समेत गरिएको जानकारी दिए । 

असार अन्तिमदेखि साउन महिनासम्ममा ९० हजार मेट्रिकटन मल नेपाल भित्रिने अपेक्षा मन्त्रालयले गरेको उनले बताए । 

त्यस्तै उनले भारतसँग जी टु जी खरीद माध्यमबाट ८० हजार मेट्रिक टन मलको खरीद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी पहिलो चरणमा तीस हजार मेट्रिक टन युरिया, बीस हजार मेट्रिक टन डीएपी खरीद प्रक्रिया सुरु गरिएको जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update