काठमाडौं - नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गरे । उनले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताए।
उनले भने, ‘म आज पनि सार्वभौम संसदमा उभिएर भन्छु नेपालले छिमेकी देश भारतको कुनैपनि जमिन अथवा भू–भाग मिचेको छैन । नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनी आवाज उठाइरहेका छौ।’
सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले नेपालले भारतको जग्गा अतिक्रमण गरेको जस्तो सन्देश दिन खोजेको आरोप लगाए ।
उनले सामाजिक सञ्जालमा पनि प्रधानमन्त्रीका समर्थकहरूले विभिन्न आधारहीन सामग्री र कथित प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा प्रस्तुत गर्न खोजिरहेको दाबी गरे ।
उनले राष्ट्रको छवि र प्रतिष्ठामाथि आँच पुग्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले कस्तो समाज निर्माण गर्न खोजिएको हो भन्ने प्रश्न समेत उठाए ।
उनले भने, ‘सामाजिक सञ्जालमा पनि उहाँको शुभचिन्तनहरुले नभएको प्रमाणहरु श्रृजना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणीत गर्न लागि परेका छन् । यो तहको राष्ट्रियघात गर्न उहाँहरुलाई किन मन लागेको हो । राष्ट्रको बेइज्जत गर्दा आनन्द हुने कस्तो मानसिकता निर्माण गर्दैछौ हामी ? कस्तो समाजको परिकल्पना हामी गर्दैछौ?’
राईले प्रतिपक्षी दलहरूले पछिल्ला केही बैठकदेखि सदनमा उठाउँदै आएको आवाजको उद्देश्य नेपाल सीमा अतिक्रमणकारी देश नभएको तथ्यलाई स्पष्ट पार्नु रहेको बताए।
उनले राष्ट्रिय स्वाभिमान र मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएका विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

