Harsamaya
रास्वपाका कार्यकर्तालाई ‘भुइँमा न भाँडोमा’ हुने छुट छैन : प्रकाशचन्द्र परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवाभन्दा माथि उठ्ने वा अहंकारी बन्ने छुट नरहेको बताएका छन् ।।

सुनसरीको लौकहीमा आयोजित रास्वपा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा देशको मुहार फेर्ने उद्देश्यसहित राजनीतिमा आएको उल्लेख गर्दै जनताको भरोसा जित्ने व्यवहार र कार्यशैली अपनाउन कार्यकर्तालाई आग्रह गरे । 

केही दिनअघि संसद्मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जनमतको सही उपयोग गर्न नसकेको अभिव्यक्ति स्मरण गर्दै परियारले रास्वपाले त्यस्तो गल्ती दोहोर्‍याउन नहुने बताए । ‘भुइँमा न भाँडोमा हुने छुट हामीलाई छैन,’ उनले भने । 

परियारले देशका वास्तविक समस्या समाधान र जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै रास्वपाका लागि पार्टीभन्दा माथि नेपाली जनता रहेको धारणा व्यक्त गरे । 

उनले ठूलो सङ्ख्यामा कार्यकर्ता हुनु मात्रै सफलताको आधार नभएको बताउँदै जनसेवा र विकासप्रति प्रतिबद्ध, सक्षम र इमानदार कार्यकर्ता नै पार्टीको आवश्यकता रहेको उल्लेख गरे । 

सुनसरी सामाजिक, सांस्कृतिक र जातीय विविधताको उत्कृष्ट उदाहरण रहेको भन्दै उहाँले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाले यही समावेशिताको सम्मान गर्दै स्थानीय सरकारको नेतृत्व गर्ने लक्ष्यका साथ अघि बढ्ने दाबी गरे । साथै सङ्घीय सरकारमा जस्तै स्थानीय तहमा पनि प्रभावकारी काम गरेर जनताको विश्वास जित्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update