काठमाडौं - विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले आज(शनिबार)हुँदैछ ।
साँझ हुने ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका हुन् ।
उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायतको आयोजक टोलीले भव्य स्वागत समेत गरेका छन् ।
देशका विभिन्न पाँच सहरहरू (नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरी) मा सम्पन्न अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले आजको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितालाई अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन गरी चार भागमा विभाजन गरिएको छ ।
प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण भनेको विजेताले विश्व मञ्चमा नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न पाउने अवसर हो । अमेरिकी दूतावासको समेत विशेष चासो र सहकार्य रहेको यस कार्यक्रमलाई लिएर नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूले उत्साह व्यक्त गरेका छन् ।

