काठमाडौं - सरकारले रिक्त रहेका आठ विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा रहेको छनोट तथा सिफारिस समितिले त्रिभुवन, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूची सार्वजनिक गरेको हो।
उपकुलपति पदका लागि कुल २१८ आवेदन परेका थिए। विज्ञहरूको मूल्यांकनका आधारमा सर्टलिस्ट तयार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
सर्टलिस्टमा परेका उम्मेदवारबारे जेठ २५ गतेभित्र राय–सुझाव दिन सकिनेछ। प्राप्त सुझाव र मूल्यांकनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ।
सरकारले यसपटक पहिलो पटक एकीकृत कार्यविधिअनुसार उपकुलपति नियुक्ति प्रक्रिया सञ्चालन गरेको हो।

