Harsamaya
कांग्रेसमा अनुशासनको डण्डा : बारा सभापति राजेश यादव निलम्बित, तीन सांसदलाई चेतावनी
नेपाली कांग्रेस पार्टी कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।

पार्टी केन्द्रीय अनुशासन समितिको संयोजक तारामान गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी उजुरीमाथि छानबिन भइरहेकाले अन्तिम निर्णय नभएसम्म यादवलाई जिल्ला सभापतिको हैसियतमा कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।

कांग्रेसका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै यादवविरुद्ध उजुरी परेको थियो। सो विषयमा पटक–पटक स्पष्टीकरण माग गरिए पनि उनले तोकिएको समयभित्र जवाफ नदिएको समितिको निष्कर्ष छ।

अनुशासन समितिले कांग्रेस विधानको धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ को नियम २८ (३) बमोजिम अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै उनलाई निलम्बन गरेको जनाएको छ।

यस्तै, सर्लाही क्षेत्र नम्बर २ अन्तर्गतका प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायविरुद्ध पनि पार्टी उम्मेदवारलाई असहयोग गरेको उजुरी परेको थियो। तर उनीहरूले दिएको स्पष्टीकरणपछि समितिले तत्काल कारबाही नगरी पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रहन सचेत गराउने निर्णय गरेको छ।

त्यसैगरी बारा कांग्रेसका उपसभापति अमिरीलाल राउत पालले पेश गरेको स्पष्टीकरण सन्तोषजनक देखिएको भन्दै उनीमाथि लागेको आरोपबाट सफाइ दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update