काठमाडौं - रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखको चर्चाबीच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धको सबैभन्दा संवेदनशील र विवादास्पद पाटो सार्वजनिक रूपमा उठाएका छन्।
विकास, लगानी, ‘रोटी–बेटी’ सम्बन्ध र सभ्यताको मिठो भाषणले दुई देशबीचको सम्बन्धको वास्तविक चरित्र लुकाउन नसक्ने संकेत गर्दै भट्टराईले नेपाल–भारत सम्बन्धको मूल संकट सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको प्रश्नमा रहेको बताएका छन्।
‘भारतीयहरूको दिलदिमागमा अंग्रेजकालदेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच छ,’ भन्दै भट्टराईले सीमा विवादलाई समेत त्यही मानसिकताको अभिव्यक्ति भएको दाबी गरेका छन्।
त्यसैगरी नेपाली समाजमा ‘सिक्किमीकरण’ को त्रास गहिरोसँग बसेको उल्लेख गर्दै उनले यही मनोविज्ञानले नेपाल–भारत सम्बन्धलाई दशकौंदेखि अविश्वासको चक्रमा बाँधेर राखेको बताएका छन्।
भट्टराईले नेपाल–भारत सम्बन्धलाई ग्रिस मिथकको ‘सिसिफस’ कथासँग तुलना गरेका छन्, जहाँ हरेक पटक समस्या समाधानको प्रयास भए पनि सम्बन्ध फेरि उही ठाउँमा फर्किने गरेको उनको संकेत छ।
आफू प्रधानमन्त्री हुँदा यही गाँठो फुकाउन नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजि) को अवधारणा अघि सारेको दाबी गर्दै उनले प्रतिवेदन तयार भइसक्दा पनि कार्यान्वयन नहुनुलाई राजनीतिक इच्छाशक्तिको अभावको उदाहरण बताएका छन्। ‘इपिजि प्रतिवेदन अहिले पनि मृत्युशैय्यामा छट्पटाइरहेको छ,’ उनको टिप्पणी छ।
भट्टराईले लामिछानेको दिल्ली भ्रमण सफल होस् भन्ने कामना गरे पनि काठमाडौं र दिल्ली दुवैतर्फबाट देखिएका राजनीतिक संकेतप्रति आशंका व्यक्त गरेका छन्। ‘दुवैतिर सुनिएका गड्यांगगुडुंगका आवाज प्रिय छैनन्,’ भन्दै उनले भ्रमण वरिपरि विकसित भइरहेका घटनाक्रमलाई लिएर अप्रत्यक्ष रूपमा चिन्ता जनाएका छन्।
भट्टराईको यो अभिव्यक्तिलाई लामिछानेको भारतसँगको बढ्दो राजनीतिक संवादको सन्दर्भमा आएको अर्थपूर्ण सन्देशका रूपमा हेरिएको छ। विशेषगरी उनले भारतको ‘हिमालयन फ्रन्टियर’ सोच र नेपालको ‘सिक्किमीकरण’ त्रासलाई एकै ठाउँमा जोड्दै दुई देशबीचको सम्बन्ध अझै विश्वासको संकटबाट मुक्त हुन नसकेको निष्कर्ष निकालेका छन्।

