काठमाडौं - नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति रोक्न सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कानुनविपरीत हुने पक्राउ र पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको कांग्रेसको भनाइ छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप भएका घटना स्मरण गराउँदै कांग्रेसले यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ ।
कांग्रेसले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ भन्दै कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्ने उल्लेख गरेको छ । ती प्रक्रिया बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनको अवधारणाविपरीत भएको कांग्रेसको ठहर छ ।
विज्ञप्तिमार्फत कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।

