Harsamaya

जनकपुर - धनुषा र सिरहा जोड्ने कमला पुल पुनःनिर्माण गर्नुपर्ने मागसहित मधेश प्रदेश सभा अगाडि प्रदर्शन गरिएको छ ।

नयाँ कमला पुल निर्माण संघर्ष समिति, सिरहा, धनुषाका युवाहरुले सोमबार जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्नुका साथै मधेश प्रदेशका सभामुख रामअशिष यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कमला नदिको दुबै पट्टि रहेका धनुषा र सिरहाका स्थानीयवासीहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र सभामुख यादवलाई बुझाएका छन् । उनीहरुले जनमत पार्टी नेतृत्वको सरकार हुँदा सम्झौता नै गरेर कमला पुल संघीय सरकारले नबनाए प्रदेश सरकारले बनाउने भनिएकोमा अहिलेसम्म कुनै कार्य अगाडि नबढाएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री कृष्ण यादवलाई पनि पटक पटक ध्यानाकर्षण पत्र बुझाउँदा केन्द्र सरकारसंग छलफल भइरहेको आश्वासनबाहेक अरु केही प्रगती नभएको संघर्ष समितिको भनाई छ ।

संघर्ष समितिका सदस्य एवम धनुषाका स्थानीय युवा अजय यादवका अनुसार केन्द्र सरकारको बजेटमा कमला पुल नपर्नु दुर्भाग्यपूर्ण रहेको छ । अब प्रदेश सरकारले नै नयाँ कमला पुल पुनःनिर्माण गर्नु पर्ने उनको भनाई छ ।

संघीय सरकार होस या प्रदेश सरकार कमला पुल जुनसुकै हालतमा पनि बनाउनुपर्ने आफूहरुको माग रहेको स्थानीय युवा यादवको भनाई छ । प्रदेश सरकारले पनि बजेटमा कमला पुल निर्माणका लागि रकम नछुट्टायए आफूहरु सशक्त आन्दोलनमा जाने उनले चेतावनी दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख यादवले प्रदेश सभा कानुन निर्माण र सुशासन कायम गर्ने थलो रहेकोले मधेश प्रदेश सरकार प्रदेशवासीको समस्या समाधान गर्नका निम्ती प्रतिवद्ध रहेको बताए ।

उनले कमला पुल निर्माण हुनु प्रदेशवासीमात्र नभई प्रदेशकै लागि आवश्यक र महत्वपूर्ण कार्य हुने धारणा राखे । सभामुख यादवले मुख्यमन्त्री कार्यालय र सम्बन्धि मन्त्रालयहरुमा कमला पुलबारे स्वयम छलफल गरेर कुनै ठोस निर्णय लिने जाकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update