काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ नयाँ व्यवस्था भएको उल्लेख गर्दै यो गत प्रतिनिधिसभाबाट मात्र समावेश गरिएको बताए ।
‘०६४ मा पनि थिएन, ०७० मा पनि थिएन, ०७४ मा पनि थिएन । किन राखियो भन्दा सदनलाई जीवन्त बनाउने उद्देश्यले,’ उनले भने, ‘मन्त्रीहरूसँग अन्तरक्रिया त भइरहन्थ्यो तर सभाको मुख्य नेता प्रधानमन्त्री नै हो । सरकार के गरिरहेको छ भन्ने विषयमा प्रत्यक्ष संवाद हुँदा सदन जीवन्त पनि हुन्छ र लोकतान्त्रिक पनि हुन्छ।’
उनले यस्तो अभ्यासले जनताप्रति उत्तरदायित्व बढ्ने र जनप्रतिनिधिले उठाएका प्रश्नको वास्तविक जवाफ प्राप्त हुने बताए । नियम कार्यान्वयनलाई सत्ता पक्ष वा प्रतिपक्षले इगोका रूपमा नलिन उनले आग्रह गरे ।
‘प्रधानमन्त्री आउनुभयो, यो महिनाको नियमावली कार्यान्वयन भयो। संसद सफल भयो, अभ्यास पनि भयो। अब नियमावलीका व्यवस्थालाई नियमसंगत रूपमा नै अगाडि बढाऔं,’ उनले भने ।
उनले सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमा समीक्षा गर्न सुझाव दिँदै संसदलाई मर्यादित र नियमअनुसार अघि बढाउनुपर्नेमा जोड दिए ।
‘झगडा गर्ने ठाउँ यो होइन । यो व्यवस्था दलगत हो, आफ्ना असहमति राख्ने ठाउँ हो । व्यक्तिगत रिसिइबी केही होइन,’ उनले स्पष्ट पारे ।

