काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरु निलम्वन हुनपनि तयार रहेको बताएका छन् ।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरु निलम्वन हुनपनि तयार रहेको बताएका हुन् ।
सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे ।

