रामेछाप - रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल स्वीकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि अस्पताल र दरबन्दी विकृत नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको वडाध्यक्ष खम्बध्वज बस्नेतले बताए ।
एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत सो अस्पताल निर्माण गरिएको उनले जानकारी दिए । यस अघि स्वास्थ्य चौकी रहेको स्थानमा नै जग्गा खरिद गरी अस्पताल भवन बनाइएको उनले बताए । वडा र गाउँपालिकाबाट गर्ने प्रक्रिया गरिहरेको उनले जानकारी दिए । स्वास्थ्य चौकीको सट्टा छिटोभन्दा छिटो अस्पताल सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ ।
आधारभूत अस्पताल सञ्चालनको लागि आफूले प्रयास गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले केन्द्र सरकारबाट स्वीकृति नआएको कारण गाउँपालिकाले समेत डाक्टर राखेर सेवा चलाइरहेको जानकारी दिए । डाक्टर बस्ने वातावरण बनाउन स्थानीयलाई पनि उनले आग्रह गरे ।
दुर्गम गाउँको अस्पताल सञ्चालन नहुँदा स्थानीयले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै स्थानीयले अस्पताल चलाउने वातावरण बनाइदिन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापासँग अनुरोध गरे ।
स्वास्थ्य मन्त्री किरण थापा मगरले आधारभूत अस्पताल बनेपछि संघीय सरकारले २ जना मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मी पठाउने र त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताए । उनले सबैभन्दा पहिला अस्पताल सञ्चालनको स्वीकृति लिने प्रक्रिया अघि बढाउन आग्रह गरे । यसको लागि स्थानीय तह, प्रदेशका सांसद र नागरिकको भूमिका आवश्यक रहेको उनले बताए ।
अस्पताल स्वीकृत नहुँदा अस्पतालको लागि बनेको विशाल भवन प्रयोग विहीन भएको छ । अहिले पनि स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवा मात्र प्रवाह हुने गरेको छ । बिरामी पर्दा हेलिकप्टर रिजर्भ गरेर काठमाडौं जानु पर्ने बाध्यता स्थानीयको रहेको छ ।

