काठमाडौं - नेपाल लेयर्स कुखुरापालक संघले गर्मी मौसमसँगै अण्डाको उत्पादन घटेपछि अण्डाको समर्थन मूल्य बढाएको छ। संघले शनिबारदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५१५ रुपैयाँ र मध्यम अण्डाको ४८५ रुपैयाँ फार्मदर कायम गरेको जनाएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ र मध्यम अण्डाको ४३५ रुपैयाँ रहेको थियो।
संघका अध्यक्ष विनोद पोखरेलले दुई दिने सार्वजनिक बिदाका कारण पर्यटकको चहलपहल बढ्दा अण्डाको खपत बढेको र अत्यधिक गर्मीका कारण उत्पादन घटेकाले मूल्य वृद्धि गर्नुपरेको बताए ।
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागत मूल्यसमेत पाउन सकेका छैनन् ।
संघले विभिन्न कृषि फार्मले जारी गरेको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ। हाल विभिन्न फार्महरूले ठूलो अण्डाको प्रतिपेटी मूल्य करिब तीन हजार ९५० देखि तीन हजार ९८० रुपैयाँसम्म र मझौला अण्डाको तीन हजार ७५० देखि तीन हजार ७८५ रुपैयाँसम्म कायम गरेका छन्। एउटा पेटीमा सात क्रेट अर्थात् २१० वटा अण्डा रहने संघले जनाएको छ।
व्यवसायीका अनुसार लागत मूल्य समयमै नपाउँदा पछिल्ला केही वर्षयता किसान कुखुरापालन व्यवसायबाट पलायन भइरहेका छन्। उत्पादन घट्नु, कुखुरामा रोग फैलिनु तथा बैंक ऋणको भार बढ्नुले व्यवसाय थप संकटमा परेको उनीहरूको भनाइ छ।

