Harsamaya
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, २७ जना घाइते
बस दुर्घटना ।

अर्घाखाँची - पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् । 

सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताए ।  

घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । 

घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको  प्रहरीको भनाइ छ ।  

सुपा देउराली दर्शन गरी पर्वत फर्किदै गरेको पर्वतको ध१ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जङ्गलमा लगभग १०० मिटर तल खसेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update