काठमाडौं - नेपाली राजदूतावास बैंककले कम्बोडियामा बसिरहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक सूचना जारी गर्दै विभिन्न गैरकानुनी गतिविधिबाट टाढा रहन र भिसा नियम पालना गर्न आग्रह गरेको छ।
दूतावासका अनुसार पछिल्लो समय पर्यटक भिसामा कम्बोडिया पुगेका नेपालीहरू भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहने तथा केही नागरिक अनलाइन ठगी (स्क्यामिङ) जस्ता अन्तरदेशीय अपराधमा संलग्न हुने गरेको जानकारी प्राप्त भएको छ।
यस्तो गतिविधि गम्भीर अपराध भएकाले कम्बोडिया सरकारले कडा कानुनी कारबाही गर्दै आएको दूतावासले जनाएको छ। यस्ता कसुरमा संलग्न पाइए पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्म सजाय हुन सक्ने उल्लेख गरिएको छ।
दूतावासले आफ्नो भिसा अवधि नाघेर बस्न नहुने, कुनै पनि गैरकानुनी काममा संलग्न नहुन तथा संलग्न भएको भए तत्काल त्यस्ता गतिविधि त्यागेर नेपाल फर्कन आग्रह गरेको छ।
साथै, आकर्षक सुविधा र उच्च तलबको प्रलोभनमा परी पर्यटक भिसामा कम्बोडिया लगायत अन्य देशमा रोजगारीका लागि नजान पनि अनुरोध गरिएको छ। वैदेशिक रोजगारीमा जानुअघि नेपालस्थित निकायबाट श्रम स्वीकृति लिने र सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग सम्पर्क गरी रोजगारदाताको विश्वसनीयता पुष्टि गर्नुपर्ने दूतावासको सुझाव छ।
कम्बोडियामा रहेका नेपालीहरूको विवरण संकलनका लागि दूतावासले अनलाइन फाराम भर्न समेत आग्रह गरेको छ। दूतावासले कुनै पनि नेपाली नागरिक समस्यामा परेको वा अलपत्र परेको जानकारी भएमा तत्काल सम्पर्कमा ल्याउन पनि अनुरोध गरेको छ।

