रौतहट - मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह नगरपालिकाद्धारा सञ्चालित ‘फ्रि बिजुली, फ्रि पानी’ कार्यक्रम तथा छोरीको विवाहमा नगद सहयोग जस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएकोमा आश्चर्यचकित भएकी छन् ।
बर्षौदेखी सञ्चालित यी लोकप्रिय कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले माथिको आदेश भन्दै रोकेकोमा मेयर साह आक्रोशित बनेकीछिन ।
‘माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ । नगरबासीले पाउँदै आएको सेवा, सुविधा रोक्ने षडयन्त्र कसले गरिरहेको छ म आफै आश्चर्यचकित छु । संविधान र कानून अनुसार स्थानीय सरकारले काम गर्न पाऊनु पर्छ, कानुन विपरीत कुनै पनि हस्तक्षेप स्वीकार्य छैन । म प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई भन्न चाहन्छु, तपाई स्थानीय सरकार चलाएको एउटा अनुभवी व्यक्ति हो । त्यसैले तपाईको कार्यकालमा स्थानीय सरकारलाई कानुन अनुसार काम गर्ने वातावरण दिनुस । मौलापुरको जनताले पाऊँदै आएको सेवा सुबिधालाई कुनै पनि बहानामा रोकने कार्य हामीलाई स्वीकार्य छैन ।” मेयर साहले भनिन् ।
‘तपाईको संघीय सरकारले पठाएको हाकिमले वैठकको कार्यसूची आफै तय गर्छन र निर्णय प्रमाणित पनि उपमेयरबाट गराउन भन्छन । यो प्रचलित कानून र मुल्यमान्यताको विपरीतको कार्य होइन ? हो भन्ने यस्तो कार्य तुरुन्त रोकनुस ।’ उनले थपिन ।
मौलापुर नगरपालिका देशैभरी यस्तै लोकप्रिय कार्यक्रमका कारण चर्चित रहेको छ । यहाँको लोकप्रिय एवं राम्रा कार्यक्रम अन्य पालिकाले समेत अनुशरण गरिरहेको सन्दर्भमा यस्तो कार्य कसैले रोक्न नसक्ने उनले बताइन् । यसको निकास छिटै हुने विश्वास समेत उनले व्यक्त गरेकी छन् ।
तर यी लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएपछि स्थानीयबासिन्दा संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । वैशाख १३ गतेदेखि टोल टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन गरिरहेको संघर्ष समितिले वैशाख १५ गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने, र जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

