Harsamaya
इरानी विदेशमन्त्री पाकिस्तानमा
इरानी विदेशमन्त्री अब्बास अराघची ।

काठमाडौं - इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् । यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरलाई इरानसँग सम्बन्धित वार्ताका लागि पाकिस्तान पठाउने निर्णय गरेसँगै अराघची इस्लामावाद पुगेका हुन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी पक्षले प्रत्यक्ष वार्ता गर्न इच्छा देखाएपछि अमेरिकी टोली पठाउन लागिएको जानकारी दिइन् ।

आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिरसँग भेटघाट गर्ने कार्यक्रम छ । पाकिस्तानको भ्रमण सकेपछि उनी क्षेत्रीय भ्रमणकै सिलसिलामा ओमान र रुस प्रस्थान गर्नेछन् ।

अमेरिकाले यस वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा व्यक्त गरेको छ भने आवश्यकता परेमा अमेरिकी उपराष्ट्रपति पनि भ्रमणमा जान सक्ने बताइएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update