रुपन्देही - मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट अवैध रूपमा भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका कपडा तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मझगावाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) तपेन्द्र विष्टको नेतृत्वमा खटिएको टोलीले आज बिहान विशेष गस्तीका क्रममा भारतबाट अवैध रुपमा ल्याइएका सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भन्सार छली गरी लुकाइछिपाइ ल्याइएका लेडिज सुट, लेहेङ्गा–कुर्ता, प्लाजो तथा काँचो कपडासहितका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी कृष्ण चन्दले जानकारी दिए। त्यसैगरी, तस्करीमा प्रयोग गरिएको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीको कुल अनुमानित मूल्य करिब १३ लाख २० हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

