काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुवै पक्षको सुनुवाइ सकिएपछि फैसला लेखन प्रक्रिया सुरु भएको हो । हाल दुवै न्यायाधीश ‘च्याम्बर’ मा रहेर निर्णय तयार पारिरहेका छन्।
रिट निवेदकका रूपमा रहेका शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबाट जवाफी बहस सम्पन्न भइसकेको छ। देउवा पक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित वरिष्ठ अधिवक्ताहरूले अन्तिम बहस गरेका थिए।
यो विवाद निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई दिएको वैधानिकता तथा विशेष महाधिवेशनको वैधतासँग सम्बन्धित छ। देउवा समूहले आफूहरू १४औँ महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै रिट दायर गरेको हो।
सर्वोच्च अदालतबाट आउने फैसलाले विशेष महाधिवेशनको वैधानिकता, गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र निर्वाचन आयोगको निर्णयबारे अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।

