Harsamaya
नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरू
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ।

काठमाडौं - काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठा राम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेकी हुन् ।

बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन । गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरूको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको छ ।

सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, रात्रिकालीन सेवालाई दिगो बनाउने र बिहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताइन् । ‘नयाँ वर्ष सुरुवातसँगै महत्त्वपूर्ण निर्णयको कार्यान्वयन भएको छ ।’

उनले विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषणका विषय उल्लेख गर्दै भनिन्, हिजोको अभ्यास लगानीको आर्थिक प्रतिफलमा केन्द्रित थियो । आज हामीले आर्थिक प्रतिफलमा होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौँ । उपत्यकाका स्थानीय तहका बिचमा समन्वय गरेर लागत सहभागिताको मोडल बनाउँछौँ । अब हाम्रो योजना भनेको रात्रि सेवालाई दिगो बनाएर बिहानी सेवालाई प्रारम्भ गर्ने हो ।

सेवा सञ्चालनका विषयमा हामी उपत्यकाका स्थानीय तहका बिचमा एक मत छ । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भने, ‘आर्थिक साझेदार तामा सबैको साझा मत नै सेवा दिगो हुने महत्त्वपूर्ण आधार हो । यो सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकोले म पनि धेरै उत्साहित छु ।’

चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीका अनुसार थानकोट नाकाबाट दैनिक ५० हजार व्यक्ति काठमाडौँ आवतजावत गर्छन् । चन्द्रागिरिका पर्यटकीय स्थानहरूमा काठमाडौँबाट जान आउन सजिलो हुने भएपछि यसले आर्थिक र सामाजिक क्रियाकलापमा स्वतः योगदान गर्ने उनको भनाइ छ ।  बुढानीलकण्ठ नगरका प्रमुख अधिकारीले रात्रि बस सेवाका विषयमा स्थानीयहरूसँग आफूले लिएको प्रतिक्रियाका बारेमा जानकारी गराउँदै भने, स्थानीयवासी धेरै खुसी हुनुहुन्छ । यसलाई विकास र विस्तार गर्दै लैजानुपर्छ ।

नगरपालिकाहरुले साझा यातायातसँगको सहकार्यमा यो सेवा प्रारम्भ गरेका हुन् । आउँदो असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहार्नेछ । ‘यस अवधिमा खर्चको विश्लेषण गरेर पालिकाहरूले लागत सहभागिता व्यहार्ने प्रतिबद्धता हाम्रा लागि महत्त्वपूर्ण छ’ साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलको धारणा राखे ।

रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्व अभ्यासमा बुढानीलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगन्ज चोक पुगेको थियो । लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो । सवारी चापका कारण यो बसले जमल क्षेत्रमा केही समय रोकिनु परेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा एयरपोर्ट पुगेको थियो ।

बस सेवाहरू हरेक रुटका सुरु र अन्तिम विन्दुबाट गुड्नेछन् । अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगन्ज चोक, पानी पोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो ।

पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमान स्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीन भवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रवि भवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ ।

नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update