काठमाडौं - पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ ।
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए ।
उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा राखेको भए पनि इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताए । भान्सका अनुसार यो सम्झौता हुन नसक्नु अमेरिकाको तुलनामा इरानका लागि धेरै नराम्रो खबर हो ।
वार्ताको क्रममा अमेरिकी टोलीले इरानसँग आणविक हतियार निर्माण नगर्ने र त्यसका लागि आवश्यक प्रविधि तथा उपकरणहरू नजुटाइने कुरामा स्पष्ट प्रतिबद्धता खोजेको थियो । उपराष्ट्रपति भान्सले आफूहरू वार्तामा निकै लचिलो बनेको दाबी गर्दै अब इरानका अगाडि अमेरिकाको अन्तिम र उत्तम प्रस्ताव छाडेर स्वदेश फर्कन लागेको बताए ।
यो वार्ता अवधिभर अमेरिकी टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, र अर्थमन्त्री स्कट बेसेन्ट लगायतका उच्च अधिकारीहरूसँग निरन्तर संवाद र समन्वय गरिरहेको थियो ।
यसैबीच, इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार यो म्याराथन वार्तामा मुख्य रूपमा स्ट्रेट अफ हर्मुजको सुरक्षा र इरानको आणविक कार्यक्रमका विषयहरू समेटिएका थिए । अमेरिकाले इरानको सर्त स्वीकार्ने तत्परता नदेखाएको कारण वार्ता गतिरोधमा फसेको बताइएको छ ।
अहिलेलाई अमेरिकाले आफ्नो प्रस्ताव इरानको हातमा छाडेको छ र अब इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भन्ने कुराले आगामी रणनीतिक बाटो तय गर्ने देखिन्छ ।

