Harsamaya
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका  चुनौती सामाना गर्दै अगाडि बढ्ने बताए।

महासचिव पोखरेलले भने,‘हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ  र सङ्कल्पलाई आशामा बदल्ने छौ । सत्ता र केन्द्रमुखी भएर जनताबीचमा पुग्न नसक्दा कम्युनिष्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौँ ।’

उनले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्र्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौँ,’ महासचिव पोखरेलको भनाइ थियो । 

पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताए। सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्बाह गरिने बताए ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update